'द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा निषेध

'द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा निषेध

काठमाडौं । प्रतिभावन गायक एवं ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । अमेरिकी नागरिक गजमेरले नेपाल बस्न पाउने अवधि सकिएकाले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाटै फर्काइएको हो । 

गत सोमबार (असोज ११ गते) कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । तर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई त्यहीबाट अमेरिका फिर्ता पठाइदिएको हो । 

अमेरिकी नागरिकका लागि नेपाल १८० दिनका भिसा मात्रै पाउने प्रावधान छ । उनको भिसा अवधि सकिएकाले अब उनी २०२२ मा मात्रै नेपाल आउन सक्नेछन् । 

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा दर्शकहरुले सर्वाधिक रुचाएका गजमेर झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए। भुटानबाट विस्थापित उनीलगायत भुटानी शरणार्थीलाईं संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि उनी पनि अमेरिका गए । २०११ मा गजमेरले पनि तेतैको राहदानी लिएका हुन् ।