नेपाल–चीन सीमा अध्ययन समितिको प्रतिवेदन बुझेपछि गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

नेपाल–चीन सीमा अध्ययन समितिको प्रतिवेदन बुझेपछि गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृह मन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाएका हुन् ।  

प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यरतथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्री खाणले विकट ठाउँमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकामा अध्ययन टोलीलाई धन्यवादसमेत दिए । अध्ययन त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्त्वपूर्ण हुने उनले बताए । 

प्रतिवेदनबारे अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए । मन्त्रिपरिषद् बैठकले गएको भदौ १६ गते नेपाल–सीमा अध्ययनका लागि समिति बनाएको हो ।