इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादमाथि ५ रनको रोमाञ्चक जीत हात पारेको छ ।
गएराति शारजाह क्रिकेट मैदानमा भएको खेलमा पञ्जाबले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन मात्रै जोड्न सक्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२५ रन बनाएको थियो । पञ्जाबका लागि ऐदेन मारकरामले सर्वाधिक २७, केएल राहुलले २१, हरप्रित बाररले १८, क्रिस गेलले १४, दिपक हुडाले १३ र नाथन इलियासले १२ रन जोडेका थिए ।
हैदरावादका जासोन होल्डरले ३ तथा सन्दिप शर्मा, भुवनेश्वर कुमार, राशिद खान र अब्दुल समादले समान १–१ विकेट लिए ।
जवाफमा १२६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरवादले खराब प्रदर्शन गर्यो ।
उसका लागि जासोन होल्डरले ४७, रिद्धिमान साहाले ३१, मनिष पाण्डेले १३ र केदार जाधवले १२ रन बनाउनु बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
हैदरावादलाई सस्तैमा समेट्न रवि बिस्नोईले ३, मोहम्मद सामीले २ र आर्सदिप सिंहले १ विकेट लिए । यो जीतसँगै पञ्जाब १० खेलबाट ८ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने हैदराबाद २ अंक जोडेर तालिकाको अन्तिममा छ ।