अकुपाई टुँडिखेल : मानव साङ्लोले टुँडिखेल घेरियो

अकुपाई टुँडिखेल : मानव साङ्लोले टुँडिखेल घेरियो

काठमाडौं : स्वच्छ र खुल्ला टुँडिखेल बनाउनका लागि दबाबस्वरुप शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिएको छ । ‘अकुपाई टुँडिखेल’ नाम दिइएको यो अभियानअन्तर्गत शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिएको हो । यो अभियानमा जनतादेखि जनप्रतिनिधिसम्मको सहभागिता रहेको थियो ।

अभियानमा ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व मन्त्री हिसिला यमी, काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा, भिमसेनदास प्रधान, शिक्षाविद् केदारभक्त माथेमा, सञ्चारर्मी रवि लामिछाने, ऋषि धमलालगायतका व्यक्तिसम्मको उपस्थिति रहेको थियो ।

उनीहरुले ‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानअन्तर्गत तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानका अभियन्ता आलोक तुलाधरले जानकारी दिए ।

आउँदा दिनमा टुँडिखेलको कथा, संचालन हुँदै आएका जात्रा पर्वका बारेमा चर्चाका साथै कविता वाचन, चेस प्रतियोगिता, विभिन्न खेलकुद गतिविधि संचालन गरिने उनको भनाई छ ।मल्ल कालमा राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गरेसँगै खुला रुपमा रहेको टुँडिखेलको विखण्डन सुरु भएको मानिन्छ ।

त्यसपछि राजा महेन्द्रले २०१३ सालमा नामबाट रत्नपार्क निर्माण गरेसँगै टुँडिखेल २ भागमा विभाजन हुन पुगेको जानकारहरुको भनाइ छ । त्यसपछि बनेका खुलामञ्च, सैनिक मुख्यालय, सैनिक मञ्च, र दशरथ रगशालाका कारण खुलामञ्च साँघुरिन पुगेको हो ।अहिले टुँडिखेलको २५ प्रतिशत भन्दा धेरै भूभाग नेपाली सेनाले प्रयोग गरिरहेको अभियन्ताहरुले बताएका छन् ।