काठमाडौंमा उपत्यकामा निषेधाज्ञा खुकुलो, सडकमा सवारीसाधनको चाप पनि बढि

काठमाडौंमा उपत्यकामा निषेधाज्ञा खुकुलो, सडकमा सवारीसाधनको चाप पनि बढि

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर घटेसँगै जारी निषेधाज्ञालाई क्रमशस् खुकुलो पार्दै लैजाने प्रशासनको रणनीति छ। निषेधाज्ञा खुकुलो भएसँगै सडकमा सवारीसाधनको चाप पनि बढिरहेको छ। तर, प्रहरीले भने निषेधाज्ञा सुरूकै अवस्था सडकमा राखिएका ब्यारिकेड्सको मद्दतले अवरोध गरिरहेको छ।

ट्राफिक प्रहरीले मोटरसाइकल र गाडीलाई छुट्टाछुट्टै ब्यारिकेडले छेकेर अवरोध सिर्जना गरिरहेको छ। कतिपय ठाउँमा भने टायर राखेरै बाटो अवरोध गरिएको छ। रिङरोडस्थित बालकुमारीको फराकिलो बीच सडकमा प्रहरीले टायर राखेर अवरोध गरेको छ। प्रहरीले यसरी बाटो अवरोध गर्दा सवारी चालकले दुस्ख पाएका छन् भने भीडभाड पनि बढिरहेको छ। ब्यारिकेड राखेर चेकिङ गर्दा सामाजिक दूरीलाई बेवास्ता गरिएको छ।

‘अहिले सडक पूरै जाम हुने गरेको छ, त्यो प्रहरीले गर्ने अवरोधका कारण भइरहेको छ,’ ट्राफिक प्रहरीमै काम गरेका पूर्वडिआइजी केशव अधिकारी भन्छन्, ‘सडकमा राखिने ब्यारिकेड्स त अवैज्ञानिक छ।’उनका अनुसार ब्यारिकेड्स राखिएका ठाउँमा सवारीसाधन एकत्रित हुँदा भीड लागिरहेको देखिन्छ।

सामाजिक दूरी कायम भएको छैन भने ब्यारिकेड्स राखेर सडक अवरोध गर्दा दुर्घटनाको जोखिम पनि बढाएको उनी बताउँछन्।
‘यस्तो धराप थापेर राख्ने, रातको समयमा नहटाइकन छोड्ने यो पद्धति अवैज्ञानिक छ,’ अधिकारीले भने, ‘यस्तो धराप तुरून्त हटाउनुपर्छ।’जडिबुटी चोक, बानेश्वर, थापाथली, जावलाखेल, रिङरोडभित्रै बौद्ध, बलम्बु, बालकुमारीलगायत क्षेत्रमा प्रहरीले धराप थापेको छ।

‘निषेधाज्ञा खुकुलो बनेपछि आवगामन बढ्छ, तर प्रहरीको जनशक्ति पनि बढाउनुपर्छ, थोरै जनशक्ति राखेर धेरैलाई चेकजाँच गर्न सकिन्न,’ अधिकारीले भने, ‘गाडीहरूलाई दिशान्तर गर्न सजिलो हुने, सामाजिक दूरी कायम हुने र संक्रमणदरलाई न्यूनीकरणमा प्रहरीले जोड दिने हो।’

उनका अनुसार कतिपय ठाउँमा त्यस्ता अवरोधक राखिएका छन् भने कतिपय कार्यालयले राखेका छैनन्। ट्राफिक प्रहरीमा अन्तरसमन्वयको अभाव देखिएको अधिकारी बताउँछन्। ‘सडकमा जुनियर प्रहरी छोड्ने गरिएको छ, सिनियर प्रहरी आफैं गएर सहजीकरण गर्ने, निर्देशन दिने, अनुगमन गर्ने गरेको देखिँदैन,’ अधिकारीले भने। ट्राफिक प्रहरी भने यो अवरोधलाई अझै कडाइ गर्नुपर्ने पक्षमा रहेको बताउँछ।

‘प्रशासनले दिएको आदेश हामीले पालना गर्नुपर्‍यो, मानिसहरू बुझ्दैनन्, भीडभाड हामीले गर्दा होइन, हिँडडुल गर्ने मानिसले गर्दा भइरहेको छ,’ ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारी भन्छन्, ‘त्यसैले हामी त ब्यारिकेड्स हटाउने होइन, बढाउने पक्षमा छौं।’