आलम प्रकरणः ‘प्रहरीको सुरक्षामा वकिलको बहस, पीडित नै बदल्न लागे बयान’

आलम प्रकरणः ‘प्रहरीको सुरक्षामा वकिलको बहस, पीडित नै बदल्न लागे बयान’

रौतहट : रौतहट बम विस्फोटको घटनाको थुनछेक बहस जिल्ला अदालत रौतहटमा जारी छ । शुक्रबारसम्म सरकारी वकिल र पीडितका कानुन व्यवसायीले बहस सकेका छन् । आइतबार प्रदेश सरकारले बिदा दिएकाले मुख्य अभियुक्त मोहम्मद अफताब आलमका कानुन व्यवसायीले सोमबारदेखिमात्र बहस सुरु गर्नेछन् ।

आलमको पक्षमा बहसका लागि वरिष्ठ अधिवक्ताहरुको लर्को लागेको छ ।

शुक्रबार पीडितको पक्षबाट बहस गरेको पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले अनौठो अनुभव सेयर गरेका छन्। संग्रौलाले मुद्दामा बहस गर्ने वकिललाई समेत कडा सुरक्षा घेराभित्र राखिएको बताएका छन् ।

आलम सम्राज्य भन्दै उनले फेसबुकमा टिप्पणी गरेका छन् ‘बहस सकियो। कुमार शर्मा अचार्य र मैले १ घन्टा २० मिनेट बहस गर्‍यौँ । आलमजीको दबदबा त गजबै लाग्यो । दुई दिनसम्म सर्वसाधरणका कुरा सुनियो । अरुको त के कुरा सुरक्षा निकायहरु हर्दम सतर्क । घरमा गएर समात्न त प्रहरीलाईलाई संभव भएनछ । मानिसहरु आगोमा हालिएका छ्न, त्यो पनि इटाभट्टामा । हिजो बहस सुरु  भयो, तर बहस सुरु हुनु अगाडि नै एकजाना साक्षी बयान बदल्न बेन्च आइपुगे । पहिलोचोटी प्रहरीको सुरक्षामा बसेर बहस गर्नुपर्ने अवस्था । वकिलहरु बसेको वरिपरि सबैतिर प्रहरी । राज्यका पदमा बस्नेहरुकाविरुद्ध गाउँका सामान्य मानिसले न्याय माग्न त कठिन रहेछ ।’

यस्तै शुक्रबारमात्र घटना मारिएका भनिएका ओसी अख्तरकी श्रीमतीले आफ्ना श्रीमान नमारिएको र वैदेशिक रोजगारीमा रहेका भन्दै निवेदन पेस गरेकी छन् । तर, अदालतले उक्त निवेदन बुझ्न अस्वीकार गरेको छ । बमकाण्डमा आफ्नो छोरा मारिएको भन्दै अख्तरकी आमाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । आमा रुक्साना खातुनको भने हत्या भइसकेको छ ।