कालापानीबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

कालापानीबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली भूभाग कालापानीलाई भारतीय पक्षले आफ्नो नक्सामा सामेल गरेको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ । समितिले आउँदो सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाउने निर्णय समेत गरेको छ । निर्णय अनुसर शुक्रबार प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको छ ।

यस्तै, प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय समितिले पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कालापानीबारे नै छलफलका लागि बोलाएको छ ।

भारतले हालै प्रकाशनमा ल्याएको नक्सामा नेपाली भूभाग कालापानी आफ्नो देशको भूभागमा राखेको छ । विवादित मानिएको उक्त क्षेत्रलाई एकपक्षीय रुपमा भारतले आफ्नो नक्सामा सामेल गरेको हो ।

भारतको उक्त कदमको नेपालको आलोचना भइरहेको छ । सत्तारुढ दल विपक्षी दलका भातृ संगठन, नागरिक समाज, तथा अन्य बुद्धिजीवी संगठनहरुले उक्त कदमको विरोध गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शनिबार अपराह्न सर्वदलीय बैठक समेत बोलाएका छन्। पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र सीमाविद्लाई बैठकमा आमन्त्रण गरिएको छ ।