राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन जना अध्यक्ष कमल थापा, पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीबीच आज भएको छलफलले कोरोना महामारी बढ्दै गएकोले अर्को निर्णय नभएसम्मको लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

राप्रपाले जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने राप्रपाले जनाएको छ । यस्तै बैठकले कोरोना भाइरस सङ्क्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ ।

सङ्क्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसंगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ ।