सभामुख सापकोटाले लगाए खोपको दोस्रो डोज

सभामुख सापकोटाले लगाए खोपको दोस्रो डोज

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन्। संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिडसिल्डको दोस्रो डोज लगाएका हुन्। संसद सचिवालयले नयाँवानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो।

शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षलगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ।

लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोस्रो खोप लगाएका छन्। बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ।

त्यसैगरी, भोलि शनिबार संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षा संग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप को दोस्रो डोज लगाइनेछ।