को-को बन्ने भए मन्त्री ?

को-को बन्ने भए मन्त्री ?

काठमाडौं । बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी ओलीले आज सपथ ग्रहण गर्दैछन् । एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने प्रयास भएपनि तत्काल ओली नेतृत्वको सरकारमा नेपाल समूह सहभागी नबन्ने भएको छ । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

सकभर सबै पक्षलाई समेट्ने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले जसपा र माधव समूहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेको बताइएको छ । तर, एमालेको माधव समुहले भने प्रधानमन्त्री ओलीलाई तत्काल सरकारमा सहभागी नबन्ने प्रष्ट पारेको माधव नेपाल निकट स्रोतले जनाएको छ ।

पाटीभित्रका अन्तरविरोधहरु मिलाउन प्रधानमन्त्री जेठ २ गतेमा फर्कने भन्ने कुरामा कंक्रिट सहमति नहुँदासम्म सरकारमा जाने कुनै सम्भावना नरहेको नेपाल पक्ष बताउछ । एमालेको माधव समुह र जसपा समेत तत्काल सरकारमा सहभागी नभए ओलीले आफु पक्षका केही नेतालाई पहिलो चरणमा मन्त्रि बनाउने तयारी गरेका छन् । पहिलो चरणमा ओलीले विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा, बसन्त नेम्वाङ लगायतलाई समेट्ने तयारी गरेको बुझिएको छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी राजनीतिक दलहरुले सरकार गठन गर्न नसकेपछि पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नै धारा ७६ को ३ अनुसार ठुलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।