नेताहरुको भेटवार्ता तीव्र : प्रचण्ड पुगे देउवा निवासमा

नेताहरुको भेटवार्ता तीव्र : प्रचण्ड पुगे देउवा निवासमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास का छन्। 

प्रधनमन्त्री केपी ओलीले संसदमा वैशाख २७ गते विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा नेताहरुले भेटवार्तालाई तीव्र बनाएका हुन्। 

बूढानीलकण्डमा प्रचण्ड र देउवाबीच छलफल भइरहेको छ। यसअघि देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए। ठाकुरसँगको भेट सकारात्मक नभएपछि देउवाले प्रचण्डसँग छलफल गरेका हुन्। कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको तयारी गरेका छन्। 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद समाधानका लागि बिहीबार बिहानैदेखि छलफललाई तीब्रता दिएका छन्। ओलीले बिहीबार बिहान अर्थमन्त्री विष्णु पौडेल छलफलका लागि माधव नेपाल निवास कोटेश्वर पठाएका थिए। ओलीले माधव समूहको राजीनामा रोक्न प्रयास स्वरुप अहिले नेता नेपालसँग बूढानीलकण्ठमै छलफल गरिराखेका छन्। 

संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका निम्ति दलहरूलाई साँझ ९ बजेसम्मको समय छ। राष्ट्रपति भण्डारीले दलहरूलाई दिएको समय घर्किँदै जाँदा छलफल तीव्र बनेको हो।

गठबन्धन सरकार निर्माण असफल भएमा संविधानको धारा २०७६ को उपधारा ३ को प्रक्रिया सुरु हुनेछ। जसअन्तर्गत ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा ओलीले नै प्रधानमन्त्रीको नेतृत्व गर्नेछन्।  

सभापति देउवाले बिहीबार दिउँसो ४ बजे पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।