सर्वसाधारणको लापरवाहीका कारण नेपालमा संक्रमणको दोस्रो लहर फैलिएयोः प्रधानमन्त्री

सर्वसाधारणको लापरवाहीका कारण नेपालमा संक्रमणको दोस्रो लहर फैलिएयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणमा आइसकेको कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको आरोप लगाएका छन्। अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दाबी गरेका हुन्।

उनले सिएनएनलाई भनेका छन्, ‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ। मृत्युदर शून्यमा आएको थियो। संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो। तर मानिसहरुले महामारी सकिएको ठाने, लापरवाही गरे। त्यसकारण महामारीको दोस्रो लहर आयो। हामीले अहिले अवस्था नियन्त्रणका लागि हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ।’

अहिले आफूहरु नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लागि परेको दाबी प्रधानमन्त्री ओलीले सिएनएनसँग गरेका छन्। उनले नेपालमा हाल कोरोना भाइरसको संक्रमण नियन्त्रणको अवस्थामा रहेको दाबी गरे। तर स्वास्थ्य मन्त्रालयले भने केही समय पहिले संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्न सक्ने अवस्था नरहेको बताएको थियो। अहिले पनि सरकारले आन्तरिक रुपमा गर्ने सर्कुलर तथा सूचनाहरुमा अवस्था भयावह रहेको बताउने गरेको छ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भने प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महमारी ‘अन्डरकन्ट्रोल’ रहेको दाबी गरेका हुन्।
सर्वसाधारणको लापरवाहीलाई दोष लगाएका ओलीले आफूसहितको उपस्थितिमा भएका विशाल राजनीतिक सभा तथा र्‍यालीहरु अहिलेको संक्रमणका लागि कारक रहेको भने स्वीकार गरेनन्। शुक्रबार एकै दिन नेपाल ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको थियो। अहिले संक्रमण ४० प्रतिशत वा त्यो भन्दा माथि रहेको छ।