प्रधानमन्त्री ओली र गोकर्ण विष्टबीच बालुवाटारमा लामो छलफल

प्रधानमन्त्री ओली र गोकर्ण विष्टबीच बालुवाटारमा लामो छलफल

काठमाडौं । चर्को विवादले फुटको संघारमा पुगेको नेकपा एमालेभित्र संवादको सुरुआत भएको छ । पछिल्ला केहिदिन यता समस्या समाधानका लागि पार्टीका विभिन्न नेताहरूबीच छलफलले तिब्रता पाएको छ ।

विवाद समाधानका लागि केहिदिन यता प्रधानमन्त्री ओलीले पनि निकै सक्रियता देखाएका छन् । उनले विभिन्न नेताहरूलाई भेट्दै आइरहेका छन् । यसै क्रममा शुक्रबार दिउसो प्रधानमन्त्री ओली र माधव नेपाल समुहका प्रभावशाली नेता गोकर्ण विष्टबीच भेटवार्ता भएको छ ।

भेटका लागि प्रधानमन्त्री आफैले टेलिफोन गरेर बोलेको बताइएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार उनीहरूबीच लामो छलफल भएको बताइएको छ । भेटमा भएको छलफलबारे खुलाईएको छैन ।

२७ वैशाखमा संसदबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न नेताहरूलाई भेटेर सहयोग गर्न आग्रह समेत गर्ने गरेका छन् । बिहीबार राति ओलीले नेपाल समुहका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग पनि छलफल गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री ओली निकट विभिन्न नेताहरू पनि माधव नेपाल समुहका नेताहरूलाई भेटघाट गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।