समर्थन फिर्ता लिँदै माओवादी केन्द्रले भन्योः ओलीले कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाए

समर्थन फिर्ता लिँदै माओवादी केन्द्रले भन्योः ओलीले कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाए

माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक नैतिकताको धज्जी उडाएको आरोप लगाएको छ ।

बुधबार संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै माओवादी केन्द्रले निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने लक्षलाई ध्वस्त बनाएको र नेपाली कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाएको आरोप लगाएको छ ।

‘प्रधानमन्त्री के।पी। शर्मा ओली नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको, नेपाली कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको छ’, पत्रमा भनिएको छ ।

त्यस्तै पत्रमा कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियतालाई सौदावाजीको बिषय बनाई देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्धत हुँदै गइरहेको आरोप लगाइएको छ ।

पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारले वैशाख २७ गते बोलाएको विशेष अधिवेशन गलत भएको बताएका छन् ।

‘२७ गते प्रधानमन्त्रीले विशेष अधिवेशन डाक्नु गलत काम हो । सरकारले विशेष अधिवेशन बोलाउन मिल्दैन । उहाँकै नेतृत्वको सरकार रहिरहेको अवस्थामा राष्ट्रियता, लोकतन्त्र र जनजिविका र सबै मुद्दाहरु गम्भीर खतरा बढ्दै गएर प्रकारान्तरले राष्ट्रिय स्वतन्त्रताको मुद्दा गम्भीर खतरामा पर्दै गइरहेकाले यो समर्थ फिर्ता लिएका हौं’, उनले भने ।

त्यस्तै उनले प्रधानमन्त्री ओलीले संविधान विरोधी धेरै काम गर्दै गइरहेको बताएका छन् । नेता गुरुङले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशहरु जारी गर्ने , अध्यादेशमार्फत सरकार सञ्चालन गर्न खोज्ने, सदनलाई निष्कृय बनाउँदै लैजाने, कार्यसूचीविहनी बनाउँदै लैजाने काम सरकारबाट आएको बताएका छन् ।