नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द,नेपालमा के होला ?

नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द,नेपालमा के होला ?

नयाँ दिल्ली । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । केही दिनयता निरन्तर कोभिड संक्रमण दर बढेपछि यहाँका सरकारी तथा निजी विद्यालय अर्को सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको हो ।

नयाँदिल्लीका मुख्यमन्त्री अनरविन्द केजरीवालले एक ट्विटमार्फत कोभिड संक्रमण दर बढेसँगै दिल्लीका सबै विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । बिहीबार मात्रै पनि दिल्लीमा सात हजारभन्दा बढी व्यक्ति संक्रमित भएका थिए । यस्तै, दिल्लीको गंगाराम अस्पतालसहित अन्य अस्पतालमा कार्यरत डाक्टरसमेत संक्रमित भएको समाचार सार्वजनिक भएका छन् ।

दिल्लीमा जस्तै भारतका अन्य राज्यहरूमा पनि कोभिड संक्रमण दर तीव्र गतिमा बढेको छ । यसमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । संक्रमण दर बढेसँगै कतिपय राज्यले रात्रिकालीन कफ्र्यु जारी गरिसकेका छन् भने कतिपयले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न आदेश दिएका छन् । नयाँदिल्लीमा पनि गत मंगलबारदेखि रात्रिकालीन कफ्र्यु जारी भएको छ । कफ्र्यु आगामी ३० अप्रिलसम्म जारी रहनेछ । बिहीबार भारतमा एक लाख ३१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

नेपालमा पनि कोरोना संक्रमण दर बढ्दै गएसंगै विद्यालयहरू बन्द गर्नु पर्ने आवाज उठ्न थालेको छ ।