काठमाडौं । भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गहुँ काट्न खेतमा पुगेका छन् । निलो ट्रयाक सुट र टोपी लगाएर विप्लव खेतमा गहुँ काट्दै गरेको तस्वीर उनका एक सहयोगीले सार्वजनिक गरेका छन् ।
‘कम्युनिस्ट विचार र आदर्श, श्रम र उत्पादनसँग जोड्नुपर्छ । श्रम र उत्पादनसँग जोडिएको कम्युनिस्ट दर्शनले मात्रै वैज्ञानिक समाजवादको आधार तयार गर्छ । श्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टी महासचिव कमरेड,’ गहुँ काट्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनका सहयोगीले लेखेका छन् ।
विप्लवले हालै तराईको जिल्लामा गएर गहुँ काट्दै गरेको तस्वीरमा देखिन्छ । विप्लवको परिवार अहिले कपिलवस्तु जिल्लामा बस्दै आएको छ ।
कम्युनिस्टहरू श्रम गर्न छाडेर विलासितामा लागेर कम्युनिस्ट आदर्शबाट च्युत भएको आरोप उनले लगाउँदै आएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि कम्युनिस्ट आचरण पालना गर्न हप्तामा केही घण्टा खेतबारीमा श्रम गर्ने गरी तयारी गरेको नेकपा स्रोत बताउँछ ।