फेरि पक्राउ परे विप्लवका नेता

फेरि पक्राउ परे विप्लवका नेता

ताप्लेजुङ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विहीबार राति सदरमुकामबाट सक्कल भन्ने सागर लिम्बुलाई पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

उनका अनुसार लिम्बु गत वर्ष परेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। अदालतले नै पक्राउ पुर्जी जारी गरिसकेको हुँदा पक्राउ गरेको पोखरेलले बताए।

'उनीविरूद्ध विस्फोटक पदार्थको मुद्दामा अदालतबाट पक्राउ पुर्जी आएको थियो। हिजो हामीले पक्राउ गरेर उहाँलाई अदालतमा बुझाएका छौं। अदालतले केही आदेश देला,' प्रहरी निरीक्षक पोखरेलले भने।

उनलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको उनले बताए। गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबिच तीन बुँदे सहमति भएको थियो। त्यसको तेस्रो बुँदामा विप्लव नेतृत्वको पार्टीलाई लगाइएको प्रतिबन्ध हटाउने र कार्यकर्तालाई रिहा गर्ने तथा सबै मुद्दा खारेज गर्ने सहमति भएको थियो।

सहमतिपछि पनि विप्लवका सबै नेताहरू रिहा भइसकेका छैनन्। प्रतिबन्ध हटाएपछि पक्राउ पर्ने लिम्बु पहिलो नेता हुन्। विप्लव नेतृत्वको पार्टीले भने सहमतिविपरीत पार्टी नेतालाई पक्राउ गर्नुले सरकारको इमानदारितामाथि प्रश्न उठेको बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका मेची-कोशी ब्युरोका इन्चार्ज प्रकाशले लिम्बुलाई तत्काल रिहा गर्न माग गरेका छन्।

छुटाउनुभयो कि ?