ओलीले पाए सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार

ओलीले पाए सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार

काठमाडौं । सत्तारूढ नेकपा एमालेले पार्टीको संसदीय दलको नेतालाई सांसद निलम्बन गर्न सक्ने अधिकार दिएको छ।  एमालेको संसदीय दलको बैठक र केन्द्रीय समितिले पारित गरेको विधानमा दलको नेतालाई कुनै पनि बेला पार्टीका सांसदलाई निलम्बन गर्न सक्ने विशेषाधिकार दिएको हो। 

एमालेको विधानको भाग ६ को अनुशासनको कारबाही र सजायसम्बन्धी दफा २५ मा ुपर्खिएर कारबाहीको नियमित प्रक्रियातर्फ जाँदा तत्काल पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महशुस भएमा दलको नेताले कुनै पनि सदस्यलाई छ महिनामा नबढ्ने गरी तत्काल दलको सदस्यताबाट निलम्बन गर्न सक्नेु अधिकार दिएको हो। तर कारबाहीको निर्णय त्यसपछि बस्ने संसदीय बोर्ड वा संसदीय दलको बैठक जुन पहिला बस्छ। त्यसमा अनुमोदनका लागि पेश गर्नुपर्ने प्रावधान विधानले राखेको छ। 

विधानको व्यवस्थाले सत्तारूढ नेकपा एमालेभित्र संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली बनेका छन्। नेकपा विभाजनसँगै पूर्व एमालेभित्र प्रधानमन्त्री ओली संसदीय दलमा सुविधाजनक बहुमतमा छन्। यस्तोमा उनले आफ्नो विपक्षमा खडा हुने वा आलोचना गर्ने कुनै पनि सांसदलाई कारबाही गर्न सक्नेछन्। 

नेकपा एमालेको दलको विधान संशोधन भएको एमालेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्ष सहभागी भएको थिएन। दुवै बैठक गत चैत ७ गते प्रधानमन्त्रीको निवास बालुवाटारमा राखिएको थियो।  त्यस्तै, एमालेले विधानमा बाधा अड्काऊ फुकाऊको अधिकार पनि दलको नेतालाई दिएको छ।