जसपामा खटपट : को बन्ला संसदीय दलको नेता ?

जसपामा खटपट : को बन्ला संसदीय दलको नेता ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन । तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जना पार्टीबीच एकीकरण भएर बनेको जसपाले एक वर्ष हुन लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्र सहमति हुन नसक्दा दलको नेता चयन हुन नसकेको हो ।

एकीकृत भए पनि सिंहदरबारमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी संसदीय दलका अलग–अलग कार्यालय छन् । यसै गरी एकीकरण अघिकै अवस्थामा अलग–अलग प्रमुख सचेतक छन् । 

तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन् । तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् । एउटै संसदीय दल बनाउन जसपाका शीर्ष नेता केही दिनदेखि गृहकार्यमा छन् ।