सरकारी निर्णय लत्याएर होलीमा रमाउँदै मुख्यमन्त्री राई

सरकारी निर्णय लत्याएर होलीमा रमाउँदै मुख्यमन्त्री राई

विराटनगर । कोरोनाको जोखिम बढेको भन्दै सरकारले भीडभाड नगर्न र होली पर्व परिवारभित्रै सीमित रहेर मनाउन दिएको निर्देशन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नै उल्लंघन गरेका छन् । गृह मन्त्रालयले र जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम बढेकोले भिडभाडमा होली नमनाउन आग्रह गर्दै त्यसलाई उल्लंघन गर्नेलाई कार्वाहीको चेतावनी दिएको छ । तर, बुधबार मुख्यमन्त्री शेरधन राई भने कुनै सुरक्षा सतर्कता नअपनाई आयोजना गरिएको होली कार्यक्रममा सहभागी थिए ।

मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार प्रहरीले बुधबार दिनभर विराटनगर बजारमा कोरोना जोखिम बढेकोले सतर्कता अपनाउन माइकिङ गरिरहेको थियो । सुरक्षा समितिले घरभित्रै बसेर होली मनाउन निर्देशन दिएको भन्दै त्यसको उल्लंघन गर्नेलाई कार्वाही गर्ने चेतावनी माइकबाट प्रहरीले दिइरहेको बेला मुख्यमन्त्री राई भने उद्योग संगठन मोरङले आयोजना गरेको होली कार्यक्रममा रमिरहेका थिए ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दोस्रो लहर आएको आशंकामा गृह मन्त्रालयले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सार्वजनिक सूचना जारी गर्दै होली पर्व परिवारमै सीमित गर्न र परिवारभित्र पनि सुरक्षा मापदण्ड पालना गर्न भनेको छ ।

बुधबार मात्रै प्रदेश १ मा १३ जना नयाँ कोरोना संक्रमित फेला पर्दा १० जना विराटनगरका मात्रै छन् । उच्च जोखिम क्षेत्र मानिने विराटनगरमा सरकारी निर्देशनको अवज्ञा गर्दै भीडमा गएर होली मनाउने मुख्यमन्त्रीको शैलीको चिकित्सक र सरकारी अधिकारीहरुले नै आलोचना गरेका छन् । ‘मुख्यमन्त्री आफै होली खेल्दै हिँडेपछि जनतालाई कुन मुखले होली नखेल भन्ने रु’, सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले आक्रोश पोखे ‘आफैले सू्चना गरेर सर्वसाधारणलाई भीड नगर्नु भन्नुपर्ने बेलामा मुख्यमन्त्रीले यसो गर्नु गलत छ ।’

कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै विगतमा पनि सार्वजनिक आलोचनाको शिकार बन्दै आएका मुख्यमन्त्रीले वेपर्वाह रुपमा होली खेल्दा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले भने चैत १५ गतेको लागि आयोजना गरेको होली मिलन कार्यक्रम स्थगित गरेका छन् । बढ्दो कोरोनाको जोखिमको कारण कार्यक्रम स्थगित गरेको प्रदेश प्रमुखका स्वकीय सचिब प्रतिक ढकालले जानकारी दिए ।