सरकारको नेतृत्व लिन कांग्रेस तयार

सरकारको नेतृत्व लिन कांग्रेस तयार

काठमाडौं । कांग्रेस नेता रमेश लेखकले कांग्रेस सरकारको नेतृत्व दिन तयार भए पनि अहिले त्यस्तो परिस्थिति नबनेको बताएका छन् । सोमबारको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नयाँ सत्तासमीकरणका विषयमा छलफल नभएको जानकारी दिँदै लेखकले भने, ‘सरकार बनाउनेबारे आजको पदाधिकारी बैठकमा छलफल भएको छैन । यद्यपि, वैकल्पिक सरकार दिने कुरा आवश्यकता प-यो भने त्यसका लागि कांग्रेस तयार नै छ, तर अहिले त्यस्तो परिस्थिति बनेको छैन ।’

सभापति देउवाको विश्वासपात्र मानिने लेखकले परिस्थिति सुनिश्चित र परिपक्व भएको अवस्थामा कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘सरकार बनाउने कुरा कांग्रेसको हातको कुरा होइन, संसदमा कांग्रेस कमजोर अवस्थामा छ, त्यो परिस्थिति सुनिश्चित भएपछि मात्रै कांग्रेस अगाडि बढ्ने हो,’ लेखकले भने ।

सोमबारको बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काममा भएको प्रगतिका विषयमा छलफल भएको छ । बैठकमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले अहिलेसम्म गरेका काम र प्रगतिका विषयमा नेताहरूलाई जानकारी गराएको समितिका संयोजक लेखकले बताए । 

‘महाधिवेशनको पूर्वतयारीको सबैभन्दा पहिलो काम भनेको क्रियाशीलको वितरण र नवीकरण हो, वडादेखि केन्द्रसम्म पार्टीको संगठनको गठन गर्ने काम क्रियाशीलले गर्छन् । वडाबाट पठाउने क्षेत्रीय प्रतिनिधिले नै महाधिवेशन, महासमिति र सातवटै प्रदेशमा हुने प्रदेश अधिवेशनका प्रतिनिधिको पनि चयन गर्ने हुन्छ,’ लेखकले भने, ‘त्यसले क्रियाशील सदस्यको व्यवस्थापन सबैभन्दा प्रमुख र पहिलो तयारी गर्नुपर्ने विषय हो ।’

नेता लेखकले यसअघि निर्धारित महाधिवेशनको कार्यतालिकाअनुसार १० चैत अर्थात् मंगलबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर नामावली केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने हो । कांग्रेसले सदस्यताको विवरण पठाउन सफ्टवेयरमा इन्ट्री गराउने प्रणाली अपनाएको छ । तर, अहिलेसम्म नौ जिल्लामा क्रियाशीलको विवरण इन्ट्री गर्ने काम नै सुरु भएको छैन ।