काठमाडौं । नेकपा (एमाले)ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
विसं २०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्रबराहीमा सारिएको थियो। एमालेका कार्यलय सचिव ईश्वरी रिजालले पार्टीको आवश्यकताअनुसार भवन अत्याधुनिक बनाइने बताए। पुराना कार्यालयका करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ। उनका अनुसार शिलान्यासको तयारी जिम्मेवारी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिइएको छ।