'माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र कांग्रेसले अर्को सरकारबारे सोच्ने'

'माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र कांग्रेसले अर्को सरकारबारे सोच्ने'

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र आफ्नो पार्टीले नयाँ सरकारबारे सोच्ने बताएका छन्। अन्यथा अहिलेकै सरकारले निरन्तरता पाइरहने पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता महतको भनाइ छ।

नेपाल प्रेस युनियन रूपन्देहीले आज  बिहान भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि मात्रै कांग्रेसले सरकारको विकल्प सोच्छ।’ कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र अन्य दलसँग मिलेर सरकार बनाउनुपर्ने बताइरहेका भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नहुँदासम्म यो सरकारले नै निरन्तरता पाउने उनले बताए।

ओली र प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा पनि किन कांग्रेसले नेतृत्व नलिएको भन्ने पत्रकारको प्रश्नमा डा. महतले मौखिक प्रस्तावले मात्रै नहुने भन्दै लिखित प्रस्ताव नआएकाले पार्टीले निर्णय नगरेको बताए। उनले दलहरूबीच सहमति भए मध्यावधि चुनाव हुन सक्नेसमेत उनको आकलन छ।

उनले भने, ‘प्रधानमन्त्री संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नुभएको थियो, त्यसले कांग्रेसलाई नै फाइदा पुग्थ्यो तर हामीले संसद् विघटन संविधानविपरीत छ भनेर समर्थन गरेनौं, प्रधानमन्त्रीको कदम स्वतन्त्र न्यायपालिकाले उल्टाइदियो। अब सहमति भएमा चुनाव हुन सक्छ। चुनाव भएमा कांग्रेस पहिलो पार्टी बन्छ।’