अमेरिकाका राष्ट्रपति बाइडेनले पदभार ग्रहणलगत्तै उल्याए ट्रम्पका यस्ता नीति

अमेरिकाका राष्ट्रपति बाइडेनले पदभार ग्रहणलगत्तै उल्याए ट्रम्पका यस्ता नीति

काठमाडौं । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन् । 

उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराइन्। सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी गरे । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ  । 

अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उनले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

यस्तै उनले जारी गरेको अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिने विभिन्न संचारमाध्यमले जनाएका छन् । 

यसैबीच, लामो समयदेखिको परम्परालाई तोड्दै नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभएर ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिएका थिए ।