अमेरिकामा तल्लो सदनले पारित गर्यो ट्रम्पमाथिको महाभियोग

अमेरिकामा तल्लो सदनले पारित गर्यो ट्रम्पमाथिको महाभियोग

काठमाडौं । अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथिको माहाभियोग प्रस्ताव पारित गरेको छ । बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा भएको मतदानमा बहुमतले उक्त प्रस्ताव पारित भएको हो । अब उनको महाभियोगबारे माथिल्लो सदन सिनेटमा चर्चा हुनेछ ।

बुधबार तल्लो सदनमा भएको मतदानमा २३२ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने १९७ सांसद्ले विपक्षमा मतदान गरेका थिए । रिपब्लिकन पार्टीका १० सांसद्ले महाभियोग प्रस्तावको समर्थन गरेका थिए ।

गत ६ जनवरीमा अमेरिकाको संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनको लागि उक्साएको आरोपमा ट्रम्पमाथि महाभियोग प्रस्ताव लगिएको हो । उक्त प्रदर्शनमा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको थियो ।

यससँगै ट्रम्प अमेरिकाको इतिहासमा तल्लो सदनले दुईपटक महाभियोग प्रस्ताव पारित गरेको पहिलो राष्ट्रपति बनेका छन् ।