ट्रम्पलाई हटाएर उपराष्ट्रपति सक्रिय बनाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

ट्रम्पलाई हटाएर उपराष्ट्रपति सक्रिय बनाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेटेटिभले संविधानको २५ औँ संशोधन सक्रिय बनाउने उपराष्ट्रपतिलाई आग्रह गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । मंगलबार बेलुका भएको मतदानमा तल्लो सदनले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाई राष्ट्रपतिबाट डोनाल्ड ट्रम्पलाई हटाउन आग्रह गर्ने सम्बन्धी प्रस्ताव पास गरेको हो ।

सदनले उपराष्ट्रपतिले बहुमत मन्त्रीहरुको साथमा राष्ट्रपतिलाई शक्तिहिन गर्न सक्ने व्यवस्था पारित गरेको हो । तर उपराष्ट्रपति माइक पेन्सले सो व्यवस्था अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।

सभामुख न्यान्सी पेलोसीले उपराष्ट्रपति पेन्ससँग २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पत्र पठाएकी थिइन् । त्यसको जवाफमा पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका थिए । त्यसपछि तल्लो सदनले ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव पारित गरेको हो ।

तल्लो सदनमा महाअभियोगको प्रस्ताव समेत दर्ता भएको छ । सो प्रस्तावमा बुधबार मतदानको तयारी छ । तल्लो सदनबाट महाभियोग सम्बन्धी प्रस्ताव पारित भएमा ट्रम्प दोस्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बन्ने छन् । अघिल्लो बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र बिद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ ।