भारतमा माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन शुरु गरिने

भारतमा माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन शुरु गरिने

काठमाडौं । भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाइने भएको छ । शनिबार कोरोनाको खोप लगाउने अभियान शुरु गर्न  बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको बैठकपछि सो निर्णय लिइएको हो ।

भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको अनुमति दिइसकेको छ । खोप अभियानको पहिलो चरणमा लगभग ३ करोडलाई दिइने बताइएको छ । जसमा स्वास्थ्य कार्यकर्ता, अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई प्राथमिकता दिइने भएको छ । यस पछि ५० वर्षभन्दा बढी उमेरका र गम्भीररुपले विरामी रहेकालाई खोप दिइने बताइएको छ । उनीहरुको संख्या करिब २७ करोड भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माघ ३ गते (जनवरी १६) को दिन कोरोनाविरुद्धको लडाईमा महत्वपूर्ण दिन हुने बताएका छन् । मोदीले यस अभियानमा बहादुर डाक्टर, हेल्थकेयर वर्कर्स, सफाई कर्मचारसहित फ्रन्टलाइन कर्मचारीलाई पहिलो प्राथमिकता दिइने बताएका छन् ।