कोरोनाको नयाँ संक्रमित बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइयो

कोरोनाको नयाँ संक्रमित बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइयो

नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ प्रकारका संक्रमितको संख्या बढेपछि भारतको राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ । बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट दिल्लीका नागरिक संक्रमित हुने क्रम बढेपछि रात्रिकालिन कर्फ्यू लागु गरिएको हो ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण ‘डीडीएमए’ बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू घोषणा गरेको हो । साथै शुक्रबार अग्रेजी नयाँ वर्षमा पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ । अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै डीडीएमएले कर्फ्यू घोषणा गरेको हो ।

त्यस्तै सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरूलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ । नयाँ प्रकारको संक्रमण भारतमा दुई दर्जन भन्दा बढीमा पुष्टि भएको छ ।

भाइरसको नयाँ प्रकार ७० प्रतिशत बढि संक्रामक रहेको विज्ञहरुले बताएका छन् । भारतमा हालसम्म १ करोड दुई लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १ लाख ४८ हजार भन्दा धेरैको मृत्यु भएको छ ।