राष्ट्रपतिलाई भेटेलगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्यो चिनियाँ टोली

राष्ट्रपतिलाई भेटेलगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्यो चिनियाँ टोली

काठमाडौं । राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ। आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौँ ओर्लिएको चिनियाँ टोलीले नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका उच्च नेताहरुसँग परामर्श गर्ने उच्च स्रोतले जानकारी दिएको छ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको हो।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आइपुगेको बुझिएको छ। टोलीले राष्ट्रपति र प्रधानमन्त्रीसँगै, विभाजित नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूसँग भेट्ने कार्यक्रम रहेको छ ।