राष्ट्रपति बाइडेनले लगाए फाइजरको पहिलो डोज

राष्ट्रपति बाइडेनले लगाए फाइजरको पहिलो डोज

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । 

अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले खोप लगाइसकेका छन् जसमा उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसी रहेका छन् । आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण गरेको दोस्रो खोप पनि पठाउन सुरु गरिसकिएको छ । हालसम्म ५ लाखभन्दा बढी अमेरिकी नागरिकले खोप लगाइसकेको बताइएको छ ।

‘खोप उपलब्ध हुँदा मानिसहरु यसलाई लगाउन तयार हुनुपर्छ भनेर देखाउन म यो खोप लगाउँदैछु,’ टेलिभिजनको प्रत्यक्ष प्रशारणमा खोप लगाउँदै बाइडेनले भने, ‘यसमा चिन्ता लिनुपर्दैन ।’ उनले देशमा खोप कार्यक्रम सुरुवात गरेकोमा ट्रम्प प्रशासनलाई पनि श्रेय दिए । बाइडेनसँगै उनको पत्नी जिल बाइडेनले खोपको पहिलो डोज लिएकी छन् ।

बाइडेनको टीमले आफ्नो शुरुवाती १०० दिनमा १० करोड अमेरिकीलाई खोप दिने लक्ष्य लिएको छ । अमेरिकामा हालसम्म १।८ करोड संक्रमित फेला परिसकेका छन् भने ३ लाख १९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।