सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

काठमाडौं । विश्वकै अग्लो हिमाल सगरमाथाको उचाइ बढेको छ। फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफलपछि सगरमाथाको बढेको उचाइ सार्वजनिक गरिएको हो।

अब सगरमाथाको उचाई ८८४८.८६  मिटर भएको छ। यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो। 

नेपाल र चीन दुवै देशका सरकारी प्रतिनिधिहरुको भर्चुअल कार्यक्रमबाट दिउँसो पौने २ बजे औपचारिक कार्यक्रममार्फत् एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो।

नेपाल र चीनका प्राविधिकहरुको, सरकारी अधिकारीहरुको संयुक्त प्रयासमा सगरमाथाको नयाँ उचाई प्राप्त भएको नेपाल सरकारले जनाएको छ।  गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणाको स्वीकृति दिएको थियो। 

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो। चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। 

उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चीन सरकारका परराष्ट्रमन्त्री वाङ यी दुवै देशका अधिकारीहरुको सहभागिता थियो।  

‘सगरमाथा नेपाल र चीनको सम्बन्ध विस्तारको आधार पनि बनेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘दुई देशको प्राविधिकहरुको सहकार्यमा भएको सफल कार्यको लागि बधाई भन्न चाहन्छु।’ उनले यसले नेपाल र चीनको बलियो पारिवारिक सम्बन्धमा थप टेवा पुर्याएको पनि बताए।