ट्रम्पलाई अर्को झट्का, पुन: मतगणना हुँदापनि बाइडेन नै विजयी

ट्रम्पलाई अर्को झट्का, पुन: मतगणना हुँदापनि बाइडेन नै विजयी

काठमाडौं । जोर्जिया राज्यमा गरिएको पुन: मतगणनामा पनि जो बाइडेन विजयी भएको चुनाव अधिकारीले जनाएका छन् । जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेको उल्लेख गरिएको छ ।

सीएनएका अनुसार बाइडेनलले ट्रम्पलाई १२ हजार २ सय ८४ भोटले जितेका हुन् । जोर्जियाका चुनाव अधिकारीहरुका अनुसार पुनस् गरिएको मतगणनामा चुनावमा कुनै धाँधली भएको पाइएन । राष्ट्रपति ट्रम्पले जोर्जियामा व्यापक धाँधली भएको बताउँदै पुन: मतगणना गर्न माग गरेपछि झन्डै ५० लाख मत हातैले गनिएको थियो ।

सन् १९९२ पछि जोर्जियामा चुनाव जित्ने पहिलो डेमोक्रेटिक उम्मेदवार हुन् जो बाइडेन् । करिब तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई महत्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो पटक सन् १९९२ मा डेमोक्रेटिक पार्टीका तर्फबाट बिल क्लिन्टनले जोर्जियामा जितेका थिए ।

बाइडेनले कुल ३०६ इलेक्टोरल भोट पाएका छन् । जुन सन् २०१६ मा राष्ट्रपति ट्रम्पले पाएकै जति हो । ट्रम्पको पक्षमा कुल २३२ इलेक्टोरल भोट पर्नेछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।