वाशिङ्टन । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाटका तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् ।
अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै लगेका छन् ।
कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । वाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसक्नु भएको छ भने बाँकी ६ मत उहाँले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्नुहुने देखिएको छ ।
पूर्व उपराष्ट्रपति बाइडेनसँग प्रतिष्पर्धामा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका छन् । उनी धेरै पछाडि रहेकाले उनले जित्ने सम्भावना न्युन देखिएको छ ।
आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा दिएका छन् ।
अमेरिकाका कुल ५० राज्य मध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो ।
अहिले मतगणना भइरहेका मध्ये पेन्सील्भानीया, उत्तर क्यारोलिना, जर्जिया र अलास्कामा ट्रम्प तथा नेभाडामा बाइडेन अगाडि देखिएका छन् ।
त्यसैगरी हुलाक दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । ती सबै मत गणना भएपछि मात्रै अन्तिम नजिता घोषणा गरिने छ ।
अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौँ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको छ ।
अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।