काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मत गणनामा धाधली भएको भन्दै आफु सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । मतगणना जारी रहेको बेला राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै मतगणनामा धाधली भएको आरोप लगाएका छन् ।
निर्वाचन हार्ने देखिएपछि ट्रम्पले धाधलीको आरोप लगाएको आरोप लागेको छ । केहि राज्यमा ठुलो संख्यामा हुलाकबाट गरिएको मत गणना हुन बाँकी रहेकाले बाइडेनले जित्ने विश्वास गरिएको भएको छ । पेन्सलभिनिया, मिचिगन जस्ता राज्यमा केहि समयका लागि मतगणना रोकिएको बताइएको छ ।
पछिल्लो मतगणना अनुसार अहिले जो बाइडेनले २३८ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१३ इलेक्ट्रोल मत पाएका छन् । हुलाकबाट यस बर्ष धेरै मतदान भएकाले मतगणनाको अन्तिम नतिजा आउन केहि समय लाग्ने बताएको छ ।
अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।