न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १८ वटा चुनावी सभा तथा र्यालीमा सहभागी भएका करिब ३० हजार नागरिक कोरोना संक्रमित भएको देखाएको छ । स्टानफोर्ड युनिभर्सिटीका अध्यताहरुले गएको जुनदेखि सेप्टेम्बर महीनासम्मका चुनावी कार्यक्रमको अध्ययन गरेर यो तथ्यांक सार्वजनिक गरेका हुन् ।
र्यालीमा सहभागी करीब ७ सय जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अनुमान छ । ट्रम्पले गरेका तीन दर्जन र्यालीवाट एक लाख नागरिकमध्ये २ सय ५० जनामा संक्रमित भएको हुनसक्ने अध्ययनको निस्कर्ष छ । ह्वाइट हाउसका प्रवक्ता जुड डीरले भने यो अध्ययनलाई ‘राजनीतिक चाल’ भन्दै गलत मानकमा आधारित भएको बताएका छन् । स्टानफोर्डले गरेको अध्ययन निश्चित र्यालीमा भाग लिएकाहरुको व्यक्तिगत अध्ययनमा आधारित भने होइन ।
ट्रम्पले र्याली गरेका १८ वटा काउन्टीसँग उस्तै जनसंख्या भएका अन्य दुई सय काउन्टीका त्यही मितिमा संक्रमित संख्याको तुलना गरेका संक्रमित र मृतकको संख्या निकालिएको हो । ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेट र जनस्वास्थ्य विज्ञहरुले पनि राजनीतिक फाइदाका लागि मतदातालाई जोखिममा पारेको आरोप लगाउदै आएका छन् । अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ ।