काठमाडौंमा आज यस वर्षकै बढी चिसो, तापक्रम ११ डिग्रीमा झर्‍यो

काठमाडौंमा आज यस वर्षकै बढी चिसो, तापक्रम ११ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकामा एक दिनमै चार डिग्री सेल्सियसले तापक्रम घटेको छ। उपत्यकामा आज बिहान ११ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो।

तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको छ। मंगलबार उपत्यकाको न्युनतम तापक्रम १५ डिग्री सेल्सियस थियो। मंगलबार १५ डिग्री सेल्सियस रहेको तापक्रम एकै दिनमा चार डिग्रीले घटेको हो।

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ। आज बिहान सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ। जुम्लाको न्युनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरी पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज देशका पहाडी भू भागमा आंशिक बदली रहे पनि पानी पार्ने प्रणाली भने छैन।