बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

ब्रसेल्स । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ ।

उनी पूर्व प्रधानमन्त्री भएपनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रूपमा कार्यरत छिन् ।

उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरूलाई जानकारी दिए ।

विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारेका छन् ।

अहिले ४५ वर्ष भएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित भएकी थिइन् ।

बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक वृद्धि हुँदै गएको छ । 

कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म दश हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।