६ वर्षे भतिजोलाई के जवाफ दिऊँ प्रधानमन्त्रीज्यू ?

६ वर्षे भतिजोलाई के जवाफ दिऊँ प्रधानमन्त्रीज्यू ?

कोरोनाको लक्षण देखिए बेसार-पानी र गुर्जो खाएर घरमै बस्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सुझाव र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको बेहोस हुनेजस्तो भएपछि मात्र अस्पतालनमा जान दिएको निर्देशन इमान्दारीपूर्वक पालना गरी आफूलाई कोरोना लागेको शंका हुँदाहुँदै पीसीआर परीक्षण नै नगरी बेसारपानी खाएकै भरमा ज्वरो र रुघाखोकी बिसेक पार्न खोज्दा मेरा दाजु मुकुन्द पाण्डेले अकालमा मृत्युवरण गर्नुपर्यो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमको बेहोस हुने अवस्था भएपछि मात्र अस्पतालमा जान दिएको निर्देशन पालना गरी दाइ घरमै अचेत भएपछि मात्र गत २६ असोजको मध्यराती साढे १२ बजे काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुर्याउने घरपरिवार एवं छिमेकीको प्रयास पनि असफल भयो । काठमाडौंमा बसेर पनि मेरो दाजुले बिरामी भएपछि अस्पतालभित्र पस्नै पाउनुभएन ।

त्यसपछि हामीले दाजुको मृत्युको कारण कोरोना नै हुनुपर्छ भन्ने अनुमानसहित अस्पतालका डाक्टरलाई पीसीआर परीक्षण गरिदिन निकै आग्रह गर्यौं । तर मृत्यु भइसकेपछि पीसीआर नगर्नु भन्ने सरकारको निणर्य अनुरुप अस्पतालले दाइको पीसीआर गर्न मानेन । कोरोना शंकाकै बीच त्यसपछि हामीले जतिसक्दो सुरक्षित किसिमले दाजुको शव जलाउनका लागि पशुपति क्षेत्र विकास कोषको इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न खोज्दा पनि कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न दिने भन्यो ।

शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउनुपर्ने भनेपछि हामी दाउराबाटै दाजुको शव जलाउन बाध्य भयौं । करिब ४ घण्टाको दाहसंस्कारपछि हामीले तत्काल दाइको घरमा बस्ने सबै जनाको पीसीआर परीक्षण गराएर जतिसक्दो छिटो रिपोर्ट आउने निजी ल्याब खोजेर दाइको घरका सबैको पीसीआर परीक्षण गराएका थियौं ।

कोरोना विश्व महामारीका बीच अब के कसरी दाइको काजक्रिया सम्पन्न गर्ने भन्ने अन्योल चिर्न ल्याबमा स्वाब दिएको ९ घण्टापछि भाउजू र भतिजाहरु सबैको कोरोना पोजेटिभ भएको रिपोर्ट पायौं । सरकारको यस्तो गम्भीर कम्जोरीका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने एकदमै जोखिमयुक्त हटस्पट बनिरहेको देखेर मैले पत्रकारिता पेसाको धर्म अनुसार यहाँहरुलाई त्यो दिन हामीले भोगेको यथार्थ जानकारी मात्र गराउन खोजेको हुँ ।

अब जतिसक्दो छिटो सरकारले पशुपतिको आर्यघाटमा मृत शव जलाउने कार्यलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्छ । नत्र पशुपति क्षेत्र कोरोनाको संक्रमण फैलाउने केन्द्र नै बनेर मुलुकको अवस्था अझै भयावह हुनेछ ।

अहिले म पनि कोरोनाको लडाइँ जितेर भर्खरै घरबाहिर निस्किएको छु । पीसीआर रिपोर्ट नेगेटिभ आए पनि अझै मेरो स्वास्थ्य पूर्ण ठिक भइसकेको छैन । झन् दाइको यस्तो अकल्पनीय दुःखद निधनले पीडा थपिएको छ । भित्रभित्रै औडाहा भइरहेको छ ।

दाइको मृत्यु भएको पनि आज ६ दिन भएछ । दाइको घरमा जाँदा दाइले मृत्युवरण गर्नुभन्दा केही दिनअघि ल्याइदिएको सिन्के चाउमिन हातमा लिएर बसेको ६ वर्षको नाबालक भतिजोले अहिलेसम्म नखाएर 'बाबा अस्पतालबाट आएपछि मात्र खान्छु है अंकल' भनिरहेको छ । अब म भतिजोलाई के जवाफ दिऊँ प्रधानमन्त्रीज्यू ?