कोरोना नियन्त्रणमा अब्बल न्यूजिल्याण्डकी प्रधानमन्त्रीलाई जनताको उपहार– अत्यधिक बहुमत आउने सुनिश्चित

कोरोना नियन्त्रणमा अब्बल न्यूजिल्याण्डकी प्रधानमन्त्रीलाई जनताको उपहार– अत्यधिक बहुमत आउने सुनिश्चित

न्यूजिल्याण्ड । न्यूजिल्याण्ड निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । 

प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्कापक्की हुने देखिएको छ । कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै उनको विश्वव्यापी प्रशंसा भएको थियो ।

खसेको मतको करिब ९८ प्रतिशत मत गणना सकिँदासम्ममा लेबर पार्टीले ४९ प्रतिशतसहित १२० सदस्य सङ्ख्यामा ६४ सिटमा विजय हाँसिल गरेको छ भने विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मतसहित ३५ सिटमा विजय हाँसिल गरेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा आफ्नो दलको विजय भएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफ्ना शुभेच्छुकहरूलाई धन्यवाद दिएकी छन् । उनले मतदाताको अपेक्षा र आफ्नो दलको घोषणापत्र अनुसार भोलिदेखि नै नया कामको शुरुवात गर्ने बताएकी छन् ।

त्यसैगरी नेशनल पार्टीका नेता जुडिथ कोलिन्सले आफ्नो दलको पराजय स्वीकार गरेका छन् । उनले आफ्नो दलले विपक्षी पार्टीको रूपमा सशक्त प्रतिपक्षिका रूपमा सरकारलाई राम्रो कामका लागि दवाव दिने बताए । कोलिन्सले आफ्नो दलले पराजयबाट शिक्षा लिँदै थप सशक्त, अनुशासित र जनतासँग थप जोडिएर काम गर्ने बताए ।

न्यूजिल्याण्डवासीले शनिबार सम्पन्न आम निर्वाचन तथा जनमतसङ्ग्रहका लागि मतदान गरेका हुन् ।

निर्वाचन अकल्याण्डमा देखिएको कोभिड–१९ सङ्क्रमणको कारण एक महिना ढिलो गरी सम्पन्न भएको छ ।

इच्छामरण र गाँजा खेतीबारे जनमतसङग्रहको प्रारम्भिक नतिजा अक्टोबर ३० र अन्तिम नतिजा नोभेम्बर ६ मा सार्वजनिक हुने आयोगले जनाएको छ ।