नोबेल पुरस्कार विजेता कविको हस्ताक्षर

नोबेल पुरस्कार विजेता कविको हस्ताक्षर

सन् २००७ को चिसो दिनको कुनै एक साँझ अथर एम साकलर भवन क्याम्ब्रिजको सभाहलमा लुइस ग्लुकको कविता पाठको कार्यक्रम थियो । विशेषगरी हार्डभर्ड विश्वविद्यालयका अंग्रेजी साहित्यका प्रोफेसर र तिनका विद्यार्थीहरूका लागि राखिएको कार्यक्रम थियो त्यो । तर, इच्छुक जोकोहीलाई पनि प्रवेश दिइएको थियो । त्यो अवसर छोप्दै त्यहाँ ग्लुकलाई सुन्न म पनि पुगेको थिएँ ।

त्यस बेलासम्म मैले ग्लुकको हाउस अफ मार्सल्याण्ड, ट्राइएम्फ अफ एक्लिज, वाइल्ड आइरिस जस्ता कवितासंग्रह पढिसकेको थिएँ । तीबाहेक विभिन्न साहित्यक पत्रिकाहरूमा प्रकाशित उनका कविताहरू पाएसम्म पढिरहेको थिएँ नै । अमेरिकी महिला कविमा एड्रियन रिचपछि म ग्लुकलाई मन पराउँछु ।

त्यस साँझ ग्लुकले सद्य प्रकाशित आफ्नो कवितासंग्रह अभेर्नोबाट थुप्रै कविता पाठ गरेकी थिइन् । पाठपछि अभेर्नो कवितासंग्रहको पुस्तक हस्ताक्षरको कार्यक्रम पनि राखिएको रहेछ । यो कुरो मलाई त्यहाँ प्रवेश गर्नुपूर्व थाहा थिएन ।

त्यस दिन मेरो खल्तीमा नोटबुकबाहेक नोट (नगद) थिएन । त्यसकारण मैले बिक्रीमा राखिएको किताब किन्न सक्ने कुरै भएन । तथापि ग्लुकलाई भेट्छु र नयाँ संग्रहका लागि बधाई दिन्छु भन्ने सुरले किताब किन्दै ग्लुकको हस्ताक्षर लिन लाइनमा लागेका विद्यार्थीहरूसँगै त्यस लाइनमा म पनि उभ्भिएँ । किताब बोकेर ग्लुक बसेको कुर्सीछेउ पुग्दै विद्यार्थीहरू अभेर्नोमा हस्ताक्षर गराउँदै थिएँ । यै क्रममा म पनि ग्लुक छेउ पुगेँ ।

ग्लुकका आँखा आश्चर्यवत् मेरा खाली हात हेर्दै थिए । खासमा उनी मेरो हातमा आफ्नो अभर्नो खोज्दै थिइन् । मलाई अप्ठेरो लाग्यो नै । यो अन्यमनस्क स्थितिमा मिलाउने हिसाबले मैले ग्लुकसामुन्ने आफ्नो दाहिने हात बढाएँ । उनले पनि आफ्नो हात विनम्रताका साथ मेरो हातमा मिसाइन् । यैबीच मलाई हठात् क्यै सुझ्यो । त्यै गतिमा मैले खल्तीबाट आफ्नो सानो नोटबुक झिकें र त्यसको खाली पन्ना उनको सामुन्ने पार्दै भनेँ,

'सिग्नेचर प्लिज ।'

किताबको सट्टा नोटबुकको खाली पन्ना सामुन्ने तेर्सिएको देखेर ग्लुक हक्क न बक्क भइन् । म उनको हस्ताक्षर लिन हठवत्, तर सहज उभ्भिरहेको थिएँ । निधार खुम्च्याउँदै मेरो आग्रह उनले स्वीकारिन् । त्यस पन्नामा साइन गरिन् । ग्लुकले योभन्दा अगाडि यसरी कुनै अपरिचितले दिएको खाली कागजमा सायदै हस्ताक्षर गरेकी होलिन् । न यसपछि नै कतै गरेकी होलिन् । न म झैं खाली चिर्कटो त्यर्स्याउँदै उनको सामुन्ने कोही पुग्यो नै होला । तलको कागजमा मात्र हैन, ग्लुकको हस्ताक्षर मेरी छातीमा पनि टाँस्सिएको छ । वास्तवमा ग्लुकको कविमन कत्ति विनम्र छ भन्ने उदाहरण थियो त्यो।

प्रिय मित्रहरू यस प्रसंगसमेत समेटिएको लुइस ग्लुकबारेको मेरो विस्तारित संस्मरण तपाईंहरू कतै पढ्न पाउनु हुने छ । अहिलेलाई यत्ति नै । लुइस ग्लुकलाई पुन: हार्दिक बधाई ! र, यो हस्ताक्षरका लागि फेरि विनम्र धन्यवाद ! तल फोटोमा देखिएको हस्ताक्षर यस वर्षको नोबेल पुरस्कार विजेता अमेरिकी कवि लुइस ग्लुकको हो ।