सम्झनामा रामबाबु दाई !

सम्झनामा रामबाबु दाई !

भूबिक्रम नेम्वाङ नक्सलमा बस्नुहुन्थ्यो। ठाउँ त त्यो ठिक थियो। तर, गिरिजा बाबुको त्यहाँ हुने ओहरदोहर पश्चिम बंगालको कम्युनिष्ट सरकार चाहदैन्थ्यो। जासुस संगठन ‘रअ’ पनि नेपाली कांग्रेस र नक्सलवादीका बीच कतै कुनै व्यवहारिक तालमेल न होस् चाहेको थियो। साइल्दाई भूबिक्रमलाई पनि उनीहरूले भनेका थिए-नेपालका झापाली कम्युनिष्टहरूले नक्सलीलाई नेपालमा शरण दिने अनि नक्सलीले तिनीहरूलाई नक्सलबाडी तिर, तेसो नगर्नु होला नि !

साइल्दाईको थेगो थियो, क्या बात ! रअ बालाहरू झस्केका थिए। यसैले गर्दा गिरिजा बाबु सिलिगुडीमा रामबाबु प्रसाई (खनुपरूदे) बस्ने ‘भानेबासा’ लाई रोज्नु भो। ‘भानेबासा’ रामबाबुको बास स्थानको नाम थियो, भारत-नेपाल बासा। खनुपरूदे जस्तै शर्टनेम थियो-भानेबासा। बिमान अपहरण पछि केही पैसा दार्जिलिंगमा शर्मा जीको मा थियो। शायद तेस मध्येको केही होला वा अरू नै। यस्तो केही रकम र १/२ थान रिभाल्वर गिरिजा बाबुले रामबाबुको जिम्मामा राख्न चाहनु भएको थियो। यसलाई तपाई सुरक्षित राख्नुस् रामबाबु, उहाँले भन्नु भो।

रामबाबुले बैद्यनाथ आयुर्वेद कम्पनीको डायरी निकालेर गिरिजा बाबुलाई सोध्नु भो-कति कति रकमको कति नोट छ यसमा? अनि रिभल्वर कति राउण्डको, कहाँ बनेको हो? गोलीगाठाको संख्या? गिरिजा बाबुले दिक्क मानेर मनोहरी बराल (जी बा) लाई भन्नु भो-यो के गर्न लागेको रामबाबुले? रामबाबुले डायरीमा लेख्नु भएको थियो: तारेख, गिरिजा बाबु आएको समय, साथका मानिसहरू, जम्मा रकम, कुन नोट कति संख्या? रिभल्वर संख्या, बनेको मुलुक, गोलीको संख्या? आदि आदि फेहरिस्तहरू। रिसाउनु भएको गिरिजा बाबुले संझाउदै भन्नु भो-रामबाबु, तपाई के गर्न चाहनु भएको हो? इन्दिरा गांधीले हामीलाई दुख: दिन थालेकी छे। सर्च गरेर हतियार समातेको छ, यताको पुलीसले।

कथंकदाचित यहाँ सर्च गरेर यी सब फेला पारे भने तपाईको यो डायरी त मुद्दा चलाउने प्रमाण पो हुन्छ। अनि गिरिजा बाबुले रामबाबुको सुत्ने ओछ्यान पल्टाउन लगाएर छरप्रष्ट रूपिया र हतियार राख्न लगाएर ओछ्यान मिलाउन लाई दिनु भो। रामबाबु मुर्ख हुनुहुन्थेन। यसो बुझ्नु फेरी मुर्खता हुनेछ। यो हर हालतमा उहाँको सफा र स्पष्ट व्यवहारको यौटा नमूना थियो, जुन गिरिजा बाबुहरू, प्रवासमा रहेका सबैलाई थाहा थियो। तेसपछि गिरिजा बाबु बिदा हुनु भयो। न भन्दै ५/१० दिनमा बंगाल पुलीसले ‘भानेबासा’ रेड गर्यो। रामबाबु त्यही रहनु भएको थियो।

रामबाबु जी, कहिए कोईराला साहेब आए थे क्या? कुछ रखे है आप के घर मे? पश्चिम बंगालका पुलीस सदाशयी थिए उ बेला। तेहाँको कम्युनिष्ट सरकार नेपाली काँग्रेसलाई दुख: दिन चाहदैन्थ्यो। इन्दिरा गांधीको दिल्ली सरकारको निर्देशनमा यो रेड गरिएको थियो। निश्च्छल रामबाबुले आए तो थे भन्नु भो। त्यस रेडमा बंगाल सरकारका अरूपनि निकायका मानिसहरू थिए। घरको खान तलासी भयो। ओच्छ्यान पनि पल्टाईयो। सबै रकम र रिभल्वर फेला पर्यो। बंगाल पुलीसले पंचनामा तयार गरे, यताको मुचुल्का जस्तै। हस्ताक्षर गर्नु अघि रामबाबुले पढनु भयो। दोहोर्याएर पढनु भयो। त्यस पंचनामामा रकम तथा रिभल्वर फेला परेको उल्लेख थिएन। उनीहरूले कतै खबर गरेर, विचारिकन त्यो पंचनामा तयार गरेका थिए।

रामबाबुले रकमकलमको र हतियारको जिकीर त छैन नि भनी प्रश्न गरेपछि बंगाली बाबुले भनेछन्-“पुरे पैसा कोईराला जी को भिजवा दिजिए और हतियार छिपा दिजीए। कोईराला साहेब बडी मिहनत से जमा किए होंगे।” रामबाबुले हस्ताक्षर गर्न अपठ्यारो मान्नु भएको थियो, पंचनामामा अरू समानहरू नै फेला परेको, गिरिजा बाबु आउनु भएको, कार्यकर्ताहरूसंग भेटेको आदि कुराहरू लेखिएको थियो। बडो अपठ्यारो मानेर रामबाबुले पंचनामामा हस्ताक्षर दिनु भयो। उहाँको मनमा थियो कि त रकम र हतियार सबै लगुन्। यसको पंजनामा बनोस् म तेसैमा हस्ताक्षर गर्छु। रकम न लाने, हतियार चाहीं लाने र फेरी हतियारको उल्लेख न गर्ने। यो त मिलेन नि, गिरिजा बाबुलाई कसरी पत्यार दिलाउने? अनि गिरिजा बाबु बेस्कन हाँस्नु भयो।

सेतो रूमालले अनुहार पुछ्दै फेरी भन्न थाल्नु भो-बुझ्यौ ! हाम्रा एकसे एक क्रांतिकारीहरूले शसस्त्र क्रांतिका दौरान प्रयोग गर्नका लागि मैले दिएको हतियारहरू गुपचुप राख्थे। कतिपयले अपराधीहरूलाई पनि बिक्री गर्दथे। अनेक गरेका छन्। जबकी रामबाबु यस्ता थिए। आफ्नै प्रकारको इमान्दार र एकलकाँटे मानिस।

म सुनि रहेको थिए। एकाग्र भै। दिल्ली साउथ एक्सटेन्सनको ‘होटल रामदा इन’ मा म गिरिजा बाबुसंगै उहीं कोठामा बसेको थिए। जनमत संग्रह पछिको कुरा हो। गिरिजा बाबु सोसलिष्ट इन्टरनेशनलको बैठकमा भाग लिन जर्मनी जाने क्रममा तेहाँ बस्नु भएको थियो, म पनि बिभिन्न कुराहरू छाप्ने र उता पठाउने प्रयोजनका लागि गएको थिए। सुशील दा, पूर्व प्रधानमंत्री सुशील कोईराला तेस अघि नै जर्मनी तिर लाग्नु भएको थियो। अनि हाँस्दै गिरिजा बाबुले भन्नु भो-यस्ता धेरै अनुभवहरू छन् साथीहरूको ! हिजो रामबाबु रहनु भएन। मेरो मनमा पनि यी संझनाहरू तैरिन थाल्यो।

रामबाबु कै बारेका अनेक संझनाहरू।