काठमाडौं । कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् ।
मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक पत्ता लागेका छन् । तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातिका अन्य भाइरस संक्रमण हुँदा प्रयोग भएको पाइएको छ । यी यौगिकमा पनि कुन कुन कोरोना प्रतिरोधी क्षमता बढाउने हुन् भन्ने पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्रका केन्द्रीय विभागका अनुसन्धानकर्मी जुटेका हुन् ।
मुसामा कोभिड–१९ संक्रमण गराएर प्रतिरोधात्मक क्षमता बढाउने रसायन प्रयोग गर्दै त्यसले रोगसँग कसरी लड्छ भन्ने अध्ययन गरिनेछ ।
अनुसन्धानमा विभाग प्रमुख प्रा.डा. रामचन्द्र बस्न्यात नेतृत्वको अनुसन्धानकर्ताको समूहमा डा. खगराज शर्मा, डा. विष्णुप्रसाद मरासिनी, डा. मदनकुमार पौडेल, विनोद रायमाझी, सरोज बस्नेत र करन खडायतलगायत सहभागी छन् । डा. अच्युत अधिकारी प्राविधिक र प्रा.डा. निरञ्जन पराजुली वैज्ञानिक सल्लाहकार रहेको यो अनुसन्धान एक वर्ष अवधिको छ ।
‘१ सय ३६ वटा यौगिकहरूको अनुसन्धान गरेर कोरोना लाग्दा कुन यौगिक (पाइने जडीबुटी) प्रयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउनका लागि छुट्टै परीक्षण आवश्यक भयो,’ डा.पराजुलीले भने, ‘कोभिड गराइएको मुसामा प्रयोग गरेपछि त्यो पक्कै पत्ता लाग्छ ।’ आयुर्वेद तथा अन्य वैद्यहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग गर्न दिने परम्परागत जडीबुटीको कुन रसायनका हितकारी भन्ने पनि यो अनुसन्धानले प्रस्ट्याउने उनले बताए । ‘गुर्जोको झोलमा सयौं मोलिकुलसहरू छन् । तर गुर्जोमा पाइने कुन मोलिकुलसले कोरोनाका बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता विस्तार गराउन मद्दत पुर्याउँछ भन्ने रिपोर्ट हाम्रो अनुसन्धानले बाहिर ल्याउनेछ,’ उनले भने । विश्वविद्यालय अनुदान आयोगले यो अनुसन्धानका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
नेसनल कलेजका बायो टेक्नोलोजी विभाग प्रमुख मरासिनी जडीबुटीको प्रयोगले कोरोना संक्रिमतहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइए पनि त्यसको ठोस प्रमाण आइनसकेको बताउँछन् । कोरोनाको परिवारमा पाइने मर्स, सार्स भाइरसविरुद्ध जडीबुटी प्रयोग भए पनि कुन कति प्रभावकारी छन् भन्ने कुरा अनुसन्धानले पुष्टि गर्ने उनको भनाइ छ ।
अनुसन्धानका क्रममा कम्प्युटरमै भाइरसको मोडल बनाएर जडीबुटीका यौगिकहरूका बनावटसँग म्याच गराइन्छ । यसका लागि विशेष प्रकारको सफ्टवेयर प्रयोग हुनेछ । वैज्ञानिकको समूहले भाइरस (कोरोना) लाई कसरी शरीरभित्र छिर्न नदिने, शरीरमा पसेको भाइरसलाई कसरी वृद्धि गर्न नदिने र रोग प्रतिरोधात्मक क्षमताको विस्तारसम्बन्धी अनुसन्धान गर्दै छ । दुइटा अनुसन्धानका लागि कम्प्युटर विधि अपनाएर नतिजा निकाले पनि प्रतिरोधात्मक क्षमताको अनुसन्धानका लागि भने मुसामा परीक्षण गरिनेछ ।
‘हामी ३ वटा विधिबाट अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘भाइरसलाई शरीरभित्र पस्न नदिने र वृद्धिदर रोक्नका लागि उपलब्ध यौगिकहरूलाई म्याच गराइनेछ । तीमध्ये कसले एन्टिबडी उत्पादन गर्छन्, हामी त्यही प्रयोग गर्न सझुाव दिन्छौं ।’ कम्प्युटर विधिबाट पत्ता लागेका प्रतिरोधात्मक क्षमता विस्तार गर्न सक्ने यौगिकहरूलाई मुसामा प्रयोग गरिने छ ।
त्यसको दुई दिनपछि कोरोना भाइरसका आरएनए वा प्रोटिन (भाइरसका भागहरू) मुसामा लगाइन्छ । त्यसपछि मुसाले कति मात्रामा एन्टिबडीको उत्पादन गर्यो भन्ने थाहा हुन्छ । जुन यौगिक प्रयोग गर्दा धेरै एन्टिबडी उत्पादन भएको पाइन्छ, त्यही यौगिक पाइने जडीबुटी प्रयोग गर्न सुझाव दिइने डा. पराजुलीले बताए ।
‘कोभिड–१९ लाग्दा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग भइरहेका जडीबुटीमा पाइने यौगिक कतिको प्रभावकारी छन् भनेर पत्ता लगाउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘मुसामा गर्न लागिएको परीक्षणले हितकारी जानकारी बाहिर ल्याउनेछ ।’
अनुसन्धानमा मुसा नै किन ?
मानिसमा प्रयोग हुने औषधिको भ्याक्सिन तथा खोप निर्माण पूर्वर् विभिन्न क्लिनिकल ट्रायलका क्रममा संसारभर वैज्ञानिकहरू प्रायः मुसामा प्रयोग गर्छन् । हरेक स्तनधारी जीवमा रोगविरुद्ध प्रतिरोधात्मक क्षमता हुन्छ । मुसा स्तनधानी जीव हुनुका साथै शरीरका विभिन्न प्रणालीहरू मानिससँग मिल्दोजुल्दो भएकाले अनुसन्धानमा प्रयोग गरिएको डा. मरासिनीले बताए ।
‘जीवनचक्र छोटो र आकार सानो हुने भएकाले यसलाई सजिलैसँग ल्याबमा राख्न मिल्छ,’ उनले भने । यो अनुसन्धानमा स्विस एल्बिनोलगायतका मुसाको प्रयोग गरिने उनले बताए । मुसामा प्रतिरोधी क्षमता अनुसन्धान सम्बन्धीको परीक्षण एक महिनामा सकिने भनिए पनि कम्प्युटेसनल मोडलिङमा धेरै समय लाग्ने अनुमान छ ।
अनुसन्धानकर्ताहरूले रसायनशास्त्र विभागको लेभल २ वा ३ को बायो सेफ्टी ल्याबमा मुसाको परीक्षण गर्नेछन् । विभागमा भएको लेभल १ ल्याबलाई स्तरोन्नति गरेर लेभल २ वा ३ को बनाइनेछ । कम्प्युटर मोडलिङबाट कोरोनाका लागि प्रयोग हुन सक्ने सम्भावित जडीबुटीजन्य रसायनको पहिचान भएपछि त्यो मुसामा हालिन्छ ।
‘हामीले १ सय ३६ वटा यौगिक लिएर अनुसन्धान गर्दै छौं । कम्प्युटर मोडलिङबाट आउने उत्कृष्ट १० देखि २० सम्मका यौगिकहरू हामी प्रयोग गर्छौं,’ डा. पराजुलीले भने, ‘मानौं ए नाम गरेको यौगिक हालेपछि उक्त मुसाले कति मात्रामा एन्टिबडी उत्पादन गर्छर् भन्ने थाहा हुन्छ । जुन यौगिकका प्रयोग गर्दा धेरै मात्रामा उत्पादन गर्छ त्यही सम्भावित निष्कर्ष हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।