काठमाडौं। नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद झन् गहिरिँदै गएको छ। जारी केन्द्रीय समिति बैठकमा संस्थापन र इतर समूहले अलग-अलग महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।
दुवै कार्यतालिकामाथि केन्द्रीय समिति बैठकमा छलफल जारी छ। कांग्रेसमा बहुमत पदाधिकारी भने आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।
कांग्रेसका एक सभापति, दुई उपसभापति र दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १४ पदाधिकारी छन्। तर, ‘जेन-जी’ आन्दोलनपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर गएका छन्। अहिले १३ पदाधिकारी मात्रै केन्द्रीय समितिको बैठकमा छलफलमा सहभागी छन्।
१३ पदाधिकारीमध्ये आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै १५औँ महाधिवेशन गर्नुपर्ने पक्षमा एक उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री गरी सातजना पदाधिकारी उभिएका छन्।
जसमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर र भीष्मराज आङदेम्बे फागुन २१ गतेको निर्वाचनअघि नै १५औँ महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका हुन्।
महामन्त्री गगन थापाले मंगलबार आगामी पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए। अर्कोतिर कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी र कोषाध्यक्ष उमेश श्रेष्ठ गरी ६ जना पदाधिकारी चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
मंगलबार सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ लेखि ३० गतेसम्म गर्नेगरी १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका थिए। तर, यादवको प्रस्तावलाई आधिकारिक मानिएको छैन।
वर्तमान पदाधिकारीमा संस्थापन अल्पमतमा परे पनि पूर्वपदाधिकारी भने चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। पूर्व–उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्व-उपसभापति विजयकुमार गच्छदारसहितका नेताहरूले कुनै पनि हालतमा निर्वाचन अघिको महाधिवेशन स्वीकार नगर्ने अडान राखेका छन्।
नियमित महाधिवेशन पक्षधरले पनि बोलायो भेला
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले बोलाएको विशेष भेलाको काउण्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन्। नियमित महाधिवेशन पक्षधरहरूले आज (बिहीबार) बिहान साढे ११ बजे काठमाडौंको गौशालामा भेला बोलाएका हुन्।
भेला बोलाउनेमा संस्थापन र डा.शेखर कोइराला नेतृत्वको इतर समूहका नेता छन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना हुन लागेको भेलाको आयोजना गर्नेमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, इन्दु शर्मा लगायतका छन्।
कर्ण, शाही, राई, भट्टराई, अर्याल, रिमाल, रानामगर नेता डा. कोइराला समूहका हुन् । त्यस्तै, शेरचन, श्रेष्ठ, पुष्प शाहीलगायत संस्थापनका हुन् । यसअघि मंगलबार विशेष महाधिवेशनका पक्षधरहरूले काठमाडौंमा विशेष भेला गरेका थिए।
महामन्त्री थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान प्रस्ताव
कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पूरै देशले गगन थापालाई खोजेको भन्दै आगामी निर्वाचनमा उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान प्रस्ताव गरेका छन्। बुधबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै मन्सुरले देशैभरबाट थापाको खोजी भएको तर्क गर्दै पार्टीले चुनाव जित्न पनि थापालाई प्रधानमन्त्रीको घोषणा गरेर जानुपर्ने बताएका हुन्।
देशैभरका जनताबाट महामन्त्री थापालाई भावी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको जिकिर गर्दै मन्सुरले भने, ‘उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनुभएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पनि उहाँकै कारण जुटेको हो । यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाऊँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौँ ।’
पार्टीका दुईटा महाधिवेशनको कार्यतालिका आएको भन्दै उनले यतिखेर ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशन उपयुक्त हुने धारणासमेत राखेका छन्।
कांग्रेसको १४औँ महाधिवेशनमा वर्तमान संस्थापन (सभापति शेरबहादुर देउवा) समूहबाट सहमहामन्त्री जितेका मन्सुर महामन्त्री गगन थापाको पक्षमा देखिएका हुन्। महाधिवेशन कहिले गर्ने ? भन्नेमा संस्थापन र इतर समूहबीच विवाद भइरहेका बेलामा मन्सुरले थापाको पक्ष लिएका हुन्।
हिमालय टाइम्स दैनिकबाट