संसद विघटन संविधान विपरीत: अध्यक्ष ओली

संसद विघटन संविधान विपरीत: अध्यक्ष ओली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोही अनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्धति भएको बताएका छन्।

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेन-जी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर गरे।

“पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव अधिकार आयोगमा बाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता छ”, उनले भने, “विधिवत् जनादेशलाई मिचेर संविधानविपरीत स्वेच्छाचारी ढंगले सरकार चल्न सक्दैन।”

प्रतिनिधिसभा पुनःस्थापना गरेर मुलुकलाई निकास दिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।

ओलीले सरकार ‘हाहाको भरमा बनेको’ भन्दै व्यंग्य पनि गरे। उनले भने, ‘शासनमा डिस्कर्डबाट पुगेको अरे! दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छ ? २–३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भएर भोटिङ गरेको रे! कसले गन्यो त्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्‍यो अमेरिकामा जस्तो ? यस्तो हावाको भरमा बनेको सरकार हो यो।’

त्यसैगरी, ओलीले पार्टीभित्रका असन्तुष्ट प्रवृत्तिमाथि पनि कटाक्ष गरे। उनले कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रियावादीहरूले गर्ने गरेको बताए।

उनले भने, ‘कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रयावादीहरुले आफ्नो पार्टीलाई गाली गर्छन् र छोड्छन्। यति सेन्टीमेण्टल नहुनुपथ्र्यो। तर कोही कोही मान्छे भएको देखियो। यस्तो चाँडो तात्ने र सेलाउने आल्मोनियम पनि गर्दैन। आल्मोनियम भन्दा पनि पातलो आल्मोनियम जस्तो छिट्टै तात्ने, छिट्टै सेलाउने हामीले गर्नु हुँदैन। हामी एउटा महान उदेश्य लिएर जन्मिएका हौं। हाम्रो आन्दोलन,हाम्रो पार्टी महान आन्दोलन लिएर जन्मिएको हो।’

ओलीले एमालेलाई महान आन्दोलनबाट जन्मिएको पार्टी भन्दै संगठनभित्र अनुशासन र धैर्यको आवश्यकता दोहोर्याए।

साथै उनले सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा रहेकाले नेकपा एमाले निराश हुन नजान्ने बताए।

उनले भने, ‘यी सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ। नेकपा एमाले निराश हुन जान्दैन। हतोत्साही हुन जान्दैन। यसले समाज विज्ञानलाई बुझेको छ। समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ। समाज पछाडि फर्कंदैन,’ ओलीले भने।