काठमाडौं । बुधबारबाट सुरु भएको एकीकृत समाजवादीको बैठकमा प्रस्तुत माओवादीसँगको एकता प्रस्ताव बहुमतबाट पारित गरिए पार्टी विभाजन हुने भएको छ ।
पहिलो दिन अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा एकता कार्यदलका संयोजक बेदुराम भुसालले प्रस्तुत गरेको एकताका आधारसहितको प्रस्तावमा उठेका असन्तुष्टि र आलोचनालाई अस्वीकृत गर्दै बहुमतले पारित गरे पार्टी विभाजन हुने निश्चित भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूअनुकूल वार्ता टोली बनाएर गरेको एकता तयारीलाई लिएर पार्टीभित्र गहिरो संकट सिर्जना भएको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष पदबाट माधवकुमार नेपालले राजीनामा दिनुपर्ने बताएका छन् । खनालले जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै भ्रष्टाचार मुद्दाका अभियुक्तले पदमा बस्न नमिल्ने बताएका हुन् ।
बुधबारबाट सुरु भएको बैठकको दोस्रो दिन बोल्ने पदाधिकारी तथा केन्द्रीय नेताहरूले अध्यक्ष नेपाललाई अख्तियारले मुद्दा दर्ता गरेपछि सुरु भएको नैतिक संकटबाट जोगिन पार्टी एकताका नाममा माओवादीमा विलयको प्रयास गरेको आरोप लगाएका छन् ।
अध्यक्ष नेपाल पतञ्जली जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । मुद्दा दर्ता गरेसँगै नेपाल सांसद पदबाट निलम्बन भइसकेका छन् भने उनले अध्यक्ष पद छोड्नुपर्ने विषयमा दबाब बढेको थियो ।
प्रचलित कानुन र एकीकृत समाजवादीको आफ्नै विधानअनुसारसमेत आचरणमा प्रश्न उठेका उनी स्वतः पदबाहिर रहनुपर्ने अवस्थामा सिंगै पार्टीका आन्तरिक निर्णय, मनोनयन हुँदै पार्टी एकतासम्ममा एकलौटी हावी भएपछि नेता कार्यकर्ताले उनको ज्यादतीविरुद्ध मुख खोल्न थालेका हुन् ।
बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताले जेनजी आन्दोलनपछि पार्टी नेतृत्वले समय र परिस्थितिअनुसार पार्टी सञ्चालन गर्न नसकेको, युवा पुस्ताको भावना बुझ्ने र आकर्षण ल्याउन नसकेको बताएका थिए ।
वाम आन्दोलनलाई ठीक ढंगले बुझ्न र वामपन्थी बीचमा सहकार्य र एकताको वातावरण बनाउन भूमिका खेल्ने बेलामा एउटा माओवादीसँग मात्रै मोहित भएर पछि लाग्नु अध्यक्षको अदूरदर्शिता रहेको भन्दै आलोचना भएको पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।
पार्टी केन्द्रीय कमिटीको बैठकमा सम्मानित नेता खनालले अध्यक्षको एकलौटी कार्यशैलीविरुद्ध बोल्दै पार्टी फुटाएर माओवादीमा नजान अध्यक्ष नेपाललाई आग्रह गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
ती सदस्यले भने, ‘अध्यक्षले हिजो आफूले ल्याएको प्रस्ताव नमान्नेलाई पार्टी छोड्न चेतावनी दिनुभयो, आज सम्मानित नेताले अध्यक्षलाई माओवादीमा नजानूस् भन्नुभयो, राष्ट्रिय संकटका सामु हाम्रो विभाजनले झन् समस्या सिर्जना हुने अवस्था भएको छ ।’
एमालेसँग विद्रोह गरेर २०७८ सालमा गठन भएको एकीकृत समाजवादीमा दोस्रो दिनसम्म बोल्ने नेताहरूको सारले पार्टी विभाजन निश्चित भएको पार्टी शीर्ष नेतृत्व तहमै देखिएको छ । माओवादीसँग पार्टी एकता गर्नुपर्छ भन्नेमा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, बेदुराम भुसाल, राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडासहित बहुमत केन्द्रीय कमिटीका सदस्य रहेका छन् ।
बैठकमा बोल्दै विद्रोहको औचित्य पुष्टि गर्न लाग्नुपर्ने निष्कर्षसहित पार्टी पुनर्गठन गर्नुपर्नेमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीलगायत रहेका छन् । यस धारले आमरूपमा वाम एकताको व्यापक बहस चलाउनेगरी एमालेसहितको एकताको नेतृत्व गर्नुपर्ने विचार अघि सारेका छन् ।
एकीकृत समाजवादीमा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी रहेकामा अध्यक्ष नेपालले एकलौटी मनोनयनको नाम सुनाएपछि ४ सय २० सदस्यीय पुगेको बताइएको छ । खनाल–भुसाल समूहका नाममा सय हाराहारी केन्द्रीय सदस्य माओवादीमा नजाने विश्लेषण गर्दै नेपाल र बेदुरामलगायतको समूहले एकलौटी मनोनयन गरेको नेतृ झाँक्रीले दाबी गरिन् । ‘सायद कबोल भइसकेको संख्या पु¥याउन मनोनयन गरियो, पार्टी बनाउन भए त सल्लाह भइहाल्थ्यो नि †’ नेतृ झाँक्रीले भनिन् ।
बैठकमा बोल्दै सम्मानित नेता खनाल, महासचिव भुसाल, नेतृ झाँक्री तथा खनालनिकट स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले पार्टी एकताका नाममा माओवादीसँग मिसिँदा आफूहरूको राजनीतिक तथा सांगठनिक हिसाबले जोखिमसमेत औंल्याएका छन् । केही व्यक्तिको विरोध भन्दै अध्यक्ष नेपालले बहुमतको बलमा पार्टी एकता प्रस्ताव अनुमोदन भएको सुनाउँदै केही दिनभित्रै पार्टी एकता घोषणा गर्ने नेपालनिकट नेताले दाबी गरेका छन् ।
एकीकृत समाजवादीले विचार मिल्ने पार्टीहरूसँग एकताका लागि वार्ता गर्न नेता बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो । संयोजक भुसालले बुधबारको बैठकमा पार्टी एकताका लागि पाँचवटा दलसँग छलफल भएको भन्दै प्रगति विवरण सुनाएका थिए ।
त्यसक्रममा उनले माओवादी र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको गृहकार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले ती दुई पार्टीसँग सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा प्रायः सबै विषय मिलेको भन्दै पार्टीको नाम, निर्वाचन चिह्नलगायतमा अन्तिम निर्णय गर्न बाँकी रहेको बैठकलाई जानकारी गराएका थिए ।
संयोजक भुसालले माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) वा नेकपा समाजवादीमध्ये एक नाम राख्ने लगभग सहमति भइसकेको बैठकलाई जानकारी गराएका थिए । त्यस्तै एकीकृत पार्टीको निर्वाचन चिह्न तारा वा कलममध्ये एक रहने पनि भुसालको भनाइ थियो ।
केन्द्रदेखि टोलसम्मै माओवादी हस्तक्षेप
नेकपा एकीकृत समाजवादीको बैठक चल्दै गर्दा नेकपा माओवादीका नेताहरूले केन्द्रदेखि टोलैसम्म हस्तक्षेप गर्दै एकीकृत समाजवादीका नेतालाई फोन म्यासेज गर्दै आफ्नो प्रभाव देखाउन थालिसकेका छन् ।
अध्यक्ष प्रचण्डले सम्मानित नेता खनाललाई पटकपटक फोन गर्दै एकताको विरोधमा नउभिइदिन आग्रह गरिरहेका छन् । पार्टीको आन्तरिक विषयमा छलफल चल्दैगर्दा अन्य प्रभावशाली नेताहरूले पनि आफ्नो जिल्ला, क्षेत्र र विषयसँग सम्बन्धित एकीकृत समाजवादीका नेता कार्यकर्तालाई पार्टी कमिटीमा कति पदाधिकारी तथा सदस्य छन् ? देखि कति संगठित सदस्य छन् ? को–को हुन् ? बसौं भन्दै हस्तक्षेप बढाइरहेका छन् ।
यस प्रवृत्तिको सारलाई समेट्दै महासचिव भुसालले एकीकृत समाजवादीको बैठकमै माओवादीमा मिसिँदा आफ्ना केही नेताले निर्वाचन जिते पनि धेरैको सत्यानाश हुने खतरा रहेको औंल्याएका छन् । बिहीबारको बैठकमा ३१ जना नेताले धारणा राखेका छन् । डा. विजय पौडेल, प्रेमलकुमार खनाल, लक्ष्मण लम्साल, कृष्णकुमार विश्वकर्मा, अशेष घिमिरे, शंकर पोखरेललगायतका नेताहरूले पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएका छन् ।
अन्जनकुमार थापा, यादव रायमाझी, अमरबहादुर थापा, हरिप्रसाद डाँगीलगायतले पार्टी एकतामार्फत बृहत् वाम आन्दोलनमार्फत राष्ट्रिय राजनीतिक समस्या समाधानमा उपस्थिति बढाउनुपर्नेमा जोड दिएका छन् ।
राजधानी दैनिकबाट