डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता स्थगित

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता स्थगित

काठमाडौं । सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्ने गरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए । 

उनले बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरूको सम्बन्धमा बुँदागत छलफल भएको जानकारी दिए ।  अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरि छलफल भई दिउँसो ४ बजेपछि वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताए । 

उनले आफूहरू जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुऱ्याउन चाहेकोसमेत बताए । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिनयता अनशनरत छन् । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेको थियो । 

जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेका छन् । सरकारले वार्ताटोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । 

वार्ताटोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।