भारतमा कुल सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

भारतमा कुल सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख ४४ हजार ६९३ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ८५।०२ प्रतिशत रहेको छ । 

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १।५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । 

भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण गरिएको छ ।