राहुल र प्रियंका गान्धीलाई किन लियो प्रहरीले नियन्त्रणमा ?

राहुल र प्रियंका गान्धीलाई किन लियो प्रहरीले नियन्त्रणमा ?

भारत । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार गिरफ्तारीमा परे ।

पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रुतमार्ग नजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी युवतीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरूलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ ।

उनीहरूलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरूले जानकारी दिएका छन् । गान्धीद्वयसँगै अन्य केही नेतालाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो ।  

कांग्रेस कार्यकर्ताहरूका अनुसार दिल्ली नोइडा राजमार्गमा र्‍या गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो ।

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनीहरूले आक्रोशित हुँदै प्रश्न गरे, “के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?” उनीहरूले भारतमा सामान्य मान्छेहरू हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे ।

नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् ।

उनले आफ्ना सवारी साधनहरू रोकिएकाले आफुहरू हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए ।

“म एक्लै हथ्रास तर्फ हिडेर जान चाहन्छु, कृपया मलाई हिड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?,” उनले भनेका थिए ।

उनको त्यो प्रश्नपछि प्रहरीहरूले उत्तर दिँदै भनेका थिए, “सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईलाई आइपिसीको १८८ अनुसार गिरफ्तार गर्दैछौँ ।”

नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोनाभाइरसको महामारीका कारण सरकारले महामारी ऐन अनुसारको आदेशहरू जारी गरेको र त्यसलाई उनीहरूले उलंघन गरेको बताए ।