अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्प र विज्ञानबीचको द्वन्द्व कायमै

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्प र विज्ञानबीचको द्वन्द्व कायमै

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त हुनुहुन्छ । विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उनका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्याँकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् । 

गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिए किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोनाभाइरस विरुद्धको खोप निर्माण हुने बताएका थिए । कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेका थिए । 

खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनावअघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उहाँमा अटल विश्वास छ । ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ । 

जनवरीको आखिरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडेमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरुले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्टाक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए । यसको सट्टा, ट्रम्पले पहिलो महत्वपूर्ण हप्ताहरुमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरे । यद्यपि उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्वीकारेका थिए।