डोनाल्ड ट्रम्पले तोके कोरोनाको खोप उपलब्ध हुने मिति, साँच्चै समयमै आउला खोप ?

डोनाल्ड ट्रम्पले तोके कोरोनाको खोप उपलब्ध हुने मिति, साँच्चै समयमै आउला खोप ?

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।

उनले भने– मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ ।  

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए ।

उनले खोप हरेक महिनामा दशौँलाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताए ।

शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उद्दले सो कुरा बताएका हुन् ।

अमेरिकाका वरिष्ठ वैज्ञानिक र चिकित्सकहरू विगतदेखि नै यस कार्यमा लागिराखेको पनि उनले बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरू यो खोप आविष्कारको काममा लागेका छन् र उनीहरूले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।

त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी दिए ।

उनले अब यो खोपको परीक्षण अन्तिम परीक्षणको क्रममा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने जानकारी पनि दिए ।

अमेरिका विश्वमा नै कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश हो । यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

त्यस्तै अमेरिकामा विश्वमै सबैभन्दा बढीको यस संक्रमणबाट ज्यान गएको छ । शुक्रबारसम्म यहाँका १ लाख ९८ हजार भन्दा बढी नागरिकको यो संक्रमणबाट नै ज्यान गएको छ ।